नेपाल-युगान्डा टी–२०: लगातार तेस्रो खेलमा नेपाल पराजित

nepal vs uganda (2)1652955136

काठमाडौं । लगातार तीन खेलमा पराजित भएसँगै नेपाली राष्ट्रिय महिला टिमले घरेलुमैदानमा जारी युगान्डाविरुद्धको टी-२० शृंखला दुई खेल अगावै गुमाएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय शृंखला खेलिरहेको नेपाल आजको तेस्रो टी-२० जित्नै पर्ने दबाबसहित मैदानमा उत्रिएको थियो । तर, बिहीबारको खेलमा पनि ६ विकेटको पराजयसँगै नेपालले शृंखला गुमाएको छ ।

९९ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको युगान्डाले १८.२ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो । युगान्डाको लागि ओपनर केभिन अविनोले सर्वाधिक ४२ रनको बनाइन । यस्तै,  लियोना बाब्रिए पाँच रनमा पेभेलियन फर्केकी थिइन् ।

यानेट एम्बाबाजी २७ रन बनाएर आउट हुँदा रिता मुसामाली ९ रन बनाएर आउट भएकी थिइन् । पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएकी रिता न्यान्गेन्डो १ रनमा पेभेलियन फर्किँदा फियोना कुलुमे ४ रनमा अविजित रहिन् ।

बलिङतर्फ नेपालका लागि कविता कुँवरले २ तथा रुबिना क्षेत्री र इन्दु बर्माले १-१ विकेट लिए । यसअघि नेपालका लागि विकेट किपर तथा ब्याटरज्योति पाण्डेले ५४ बलमा पाँच चौकासहित ४७ रनको महत्त्वपूर्ण इनिङ खेलेकी थिइन् । 

कप्तान रुबिना क्षेत्रीले अविजित १८ रन बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । युगान्डाका लागि फियोना कुलुमे, कोन्ची अवेको रसाराह एकिटेङले २–२ तथा यानेट एम्बाबाजी र रिता मुसामालीले १–१ विकेट लिएकाथिए ।

पहिलो टी- २० मा १२ रनको हार बेहोरेको नेपाल दोस्रो खेलमा एक विकेटले हारेको थियो ।

 

Comments

Top