पूर्वयुवराज पारससँग भरतमणिको भेटः देशका पावरहाउस युवालाई स्वदेश फर्काउन पहल गर्न पारसको सुझाव

 Bharatmani paras

काठमाडौं । कमेडी च्याम्पियन–२ का विजेता भरतमणि पौडेलले पूर्वयुवराज पारस शाहसँग भेट गरेका छन् । पौडेलले शुक्रबार राजधानीको दरबारमार्गस्थित शेर्पा मलमा आफू र सुमन कोइराला भएर शाहसँग भेट गरेको बताएका छन् । पौडेलले आफूहरु दुवैबीच एक घन्टा कुराकानी भएको समेत बताएका छन् ।

पौडेलले केही दिनअघि भेटघाट भए पनि मंगलबार बिहान मात्र दुईबीच भेट भएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । उनले पूर्वयुवराज शाह निकै रमाइलो भएको जानकारी दिएका छन् ।

पौडेलले पारससँग शुक्रबार अपराह्न ५ बजेतिर शेर्पा मलस्थित ओपनियन रेस्टुरेन्टमा भेट भएको जानकारी दिए। उनी पूर्वयुवराज पारस शाहकै क्यारिकेचर गरेर कमेडी च्याम्पियनमा चर्चित बनेका थिए । जसलाई धेरैले मन पराएका थिए।

भेट्नेवित्तिकै पूर्वयुवराज पारसले आफूलाई फन्नी फन्नी भनेको बताए। ‘साँझ ५ बजेदेखि एक घन्टा बस्यौं, उहाँले मेरो भिडियो हेर्नु भएको रहेछ, एकदम रमाइलो लाग्यो भन्नुभयो। अनि आफ्नै स्टाइलमा उत्साह दिँदै भन्नुभयो–फन्नी फन्नी किप इन टच। मलाई त एकदम मन पर्यो, उहाँको सादगी जीवन देखेर। मानौं, वर्षौदेखि उहाँको र मेरो चिनजान छ झै लाग्यो। दले दाइ (सुमन कोइराला) र म यताबाट थियौं भने उहाँ र मुनेन्द्र दाइ हुनुहुन्थ्यो। खाजा सँगै खाइयो। जे होस् त्यो भेट मेरा लागि ऐतिहासिक र रमाइलो थियो,’ भरतमणिले भने।

भेटका क्रममा पारस देशप्रति धेरै चिन्तित भएको बताउँदै युवाहरु नै देशका लागि पावर हाउस भएको बताए । उनले भेटका क्रममा पारसले भने, ‘तिमीहरू यो देशका जल्दाबल्दा युवाहरू हौ। युवाहरू नेपालको आर्थिक समृद्धिको इन्जिन र पावर हाउस हुन् । नेपाललाई आर्थिक समृद्धितिर उन्मुख गर्न नेपाली युवाहरू नै जाग्नु पर्छ। तिमीहरू नेपाली युवा कामदारहरु गएको मुलुकहरुमा आफ्नो कार्यक्रम लिएर जाउ। कमेडी नै देखाएर पनि नेपाली युवाहरूलाई आफ्नै देश फर्की नेपाल बनाउन पर्छ भन्ने संदेश दिनुस। तपाईंहरुलाई मैले के सहयोग गर्न पर्छ म सहयोग गर्न तयार छु ।’

Comments

Top