प्रधानमन्त्री कार्यालयको वेभसाइटको अवस्था : झण्डावाल गाडी छाडेको तेस्रो दिनसम्म मन्त्रीपरिषद् सदस्य !

PMO Office_Main

काठमाडौं । आज २०७८ साल असार १० गते बिहीबार । अहिले ठ्याक्कै बिहानको ११ बजेर १२ मिनेट गयो ।

देश चलाउने जिम्मेवारीको बागडोर लिएर बसेको प्रधानमन्त्री कार्यालय कत्तिको ‘अस्तव्यस्त’ र ‘लापरबाही’ छ भन्नेको उदाहरण ज्वलन्त देखिएको छ ।

सर्वोच्च अदालतले २० मन्त्रीहरुलाई पदमुक्त गर्ने आदेश दिएको तेस्रो दिनसम्म पनि प्रधानमन्त्री कार्यालयको बेभसाइटमा भने मन्त्रीमण्डलमा पुरानै सदस्यहरुको नामावली यथावत छ ।

प्रधानमन्त्री ओलीले आईटी सल्लाहकारका रुपमा नियुक्त गरेका अजगर अली बेलाबेला विभिन्न विवादमा मुछिँदै आएको स्पष्ट नै छ । त्यसबाहेक उनको जिम्मेवारी हो वा उनी अन्तर्गतको कुनै शाखाको जिम्मेवारी हो, देशकै सबैभन्दा ठूलो र आधिकारिक वेभसाइट नै तीन दिनसम्म पनि अपडेट भएको छैन ।

यस्तो विषम परिस्थितिमा नेपालका घटनाका बारेमा विश्वजगतले नै चासो लिने परिस्थिति आएको यस परिवेशमा प्रधानमन्त्री कार्यालय जस्तो संवेदनशील कार्यालयको यस किसिमको लापरबाहीलाई कसरी लिने ?

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि गत जेठ २१ गते मन्त्रीमण्डलमा थप गरे । त्यसपछि सर्वोच्च अदालतले प्रधानमन्त्रीको उक्त कदमप्रति परेको रिटमा सुनुवाई गर्दै तत्कालै थपिएका २० मन्त्रीहरुलाई जिम्मेवारी मुक्त गराउन आदेश दिएको थियो ।

सर्वोच्चले गत मंगलबार आदेशदिएलगत्तै नेपाल सरकारको मन्त्रीमण्डलमा प्रधानमन्त्री केपी ओली शर्मासहित ५ सदस्यीय मन्त्रीमण्डल मात्र कायम भएका थिए । सर्वोच्चको आदेशसँगै १३ दिने मन्त्री भएकाहरु झण्डावाल गाडी छाडेर सडकमा पुगिसके तर प्रधानमन्त्री कार्यालयको आधिकारिक वेभसाइट https://www.opmcm.gov.np/cabinet/ मा भने उनीहरु उपप्रधानमन्त्री, मन्त्री र  राज्यमन्त्रीकै हैसियतमा रहेका छन् ।

PMO office

 

Comments

Top