त्रिदेशीय फुटबल कपमा बंगलादेशलाई २–१ ले हराउँदै नेपाललाई उपाधि

Foot_

काठमाडौं । सन् १९८४ पछि पहिलोपटक नेपालले ३७ वर्षपछि पहिलोपटक उपाधि हात पारेको छ । सोमबार साँझ राजधानीको दशरथ रंगशालामा सम्पन्न त्रि–देशीय फुटबल कपको फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी बंगलादेशलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले खेलको पूरै अवधिभर प्रतियोगिता हेरेर खेलाडीहरुलाई हौलसा प्रदान गरेको फाइनल खेलको १८ औं मिनेटमा नेपाली खेलाडी संजोग राईले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाललाई जित दिलाउन संजोग राई र विशाल राई ’बी’ ले एक एक गोल गरे । बंगलादेशका महबुबुर रहमानले एक गोल फर्काए  ।

घरेलु दर्शकसामु नेपाली टिमले सुरुवातबाटै आक्रमण प्रदर्शन गरेको थियो । खेलको १३ औं मिनेटमा संजोग राईको क्रसमा त्रिदेभ गुरुङको फितलो प्रहार बंगलादेशका डिफेन्डरले क्लियर गरे ।

१७ औं मिनेटमा अनन्त तामाङको उत्कृष्ट हेड बल बंगलादेशका गोलकिपर अनिसुर रहमानले मुस्किलले बचाएका थिए । तर, खेलको १८ औं मिनेटमा संजोग राईले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

कर्नरमा बंगलादेशका डिफेन्डरले क्लियर गरेपछि आएको बलमा संजोगले डिबक्स भित्रबाट उत्कृष्ट गोल गरे । मिडफिल्डर संजोगको यो डेब्यु गोल हो । संजोगले शनिबार बंगलादेशसँगको खेलमै राष्ट्रिय टिमका लागि डेब्यु गरेका थिए ।

त्यस्तै खेलको ४२ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । रंजित धिमालको लामो पासमा संजोक राईले वान टचमा उपलब्ध गराएको बलमा विशालले पोस्टको जाली चुमाएका हुन् । विशालको यो राष्ट्रिय टिमका लागि चौंथो गोल हो ।

दोस्रो हाफमा नेपालको प्रदर्शन केहि कमजोर देखियो । बंगलादेशले भने केहि गोलको अवसर निकालेको थियो । खेलको ६७ औं मिनेटमा यसिन अरफातको प्रहार पोस्ट नजिकबाट बाहिरिएको छ ।

त्यसपछि खेलको ८३ औं मिनेटमा बंगलादेशका रहमानले गोल गरेपनि नेपाल २–१ ले विजयी भयो । जमल भुयाको  कर्नर बलमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका उनले उत्कृष्ट हेड गोल गरे । यससँगै नेपालले तीन खेलपछि बंगलादेशलाई हराउन सफल भएको छ ।

फाइनल खेलको म्यान अफ द म्याच नेपालका संजोग राई घोषित भएका थिए भने प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयर नेपालकै रोहित चन्द भएका थिए । उनीहरुले क्रमशः २५० डलर र ५०० डलर पाएका थिए । विजेता नेपालले ५ हजार डलरसहित ट्रफी हात पारेको थियो । त्यस्तै उपविजेता बंगलादेशदले तीन हजार डलर बराबरको पुरस्कार प्राप्त गरेको छ । खेलमा बंगलादेशका २ खेलाडीले पहेंलो कार्ड पाएका थिए ।

Comments

Top