बस्नेतको प्रचण्ड–नेपाल पक्षलाई चुनाैती– हिम्मत भए हँसिया हथौडा चुनाव चिन्ह लिएर निर्वाचनमा आउनुस्

1_Mahesh

पोखरा । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले प्रचण्ड–नेपाल पक्षलाई हिम्मत भए आगामी निर्वाचनमा हसिया हथौड़ा चिन्ह लिएर चुनाबमा आउन नेकपा चुनौती दिएका छन् ।

युवा संघले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले भने, ‘लोकप्रियताको मापन गर्ने हो भने सुर्य चिन्ह हैन हसियाँ हथौडा बोकेर निर्वाचन लडनुपर्छ ।’

युवा नेता बस्नेतले केपी ओलीको लोकप्रियताले नेकपाले झण्डै दुई तिहाईको मत प्राप्त गरेको भन्दै उनले ‘प्रचण्डलाई हिम्मत छ भने हिजोको एमाले पार्टीको सूर्य चिन्ह छाडेर निर्वाचनमा जानुपर्छ । त्यसपछि उहाँको लोकप्रियता मापन हुन्छ ।’ बस्नेतले नेकपाको आधिकारीक अध्यक्ष केपी ओली भएकाले सूर्य चिन्ह प्रचण्ड–माधव नेपालले नपाउने बताए ।

नेकपा एकिकरण हुदाँ बनेका समितिहरु बनेको बताउँदै ओली नेतृत्वको नेकपाले आधिकारीकता पाउने दावी बस्नेतले गरे । उनले आफनो लोकप्रियताको मापन अरुको चिन्हबाट गर्ने हैन भन्दै निर्वाचनको विकल्प नभएको समेत स्पष्ट पारे । उनले सर्वोच्च अदालत र निर्वाचन आयोगले गर्ने निर्णय आफुहरुले स्वीकार गर्ने बताए ।

उनले बल्खु र धुम्बाराहीमा प्रचण्ड–नेपाल पक्षले दाबी नगर्न पनि चेतावनी दिए । उनले भने, ‘पेरिसडाँडामा हामी आँखा लगाउदैनौ बल्खु र धुम्बाराही छाड्दैनौ ।’

 

Comments

Top