असई विक र जवान साउदको हत्यामा संलग्न ८ लाई पुर्पक्षका लागि जेल पठाउने अदालतको आदेश

kailali_court

 

कैलाली। जिल्ला अदालत कैलालीले जुगेडा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका ८ जनालाई पुपक्र्षका लागि जेल चलान गर्ने आदेश दिएको छ ।

मंगलबारको थुनछेक बहसपछि हत्या अभियोगमा पक्राउ परेका ८ जनालाई पुर्पक्षका लागि जेल चलान गरिसकिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

गत कात्तिक १ गते गस्तीका बेला अस्थायी प्रहरी पोस्टका जुगेडामा इन्चार्ज प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान साउद बेपत्ता भएका थिए।

कात्तिक २ गते विकको मोहना नदीको किनारमा र दुई दिनपछि साउदको हत्या गरेकै अवस्थामा सोही नदी भित्र नै शव फेला परेको थियो ।

प्रहरी हत्यामा संलग्न धनगढी-१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना (क), रोहित राना (ख), सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश रानालाई प्रहरीले पक्राउ गरेको थियो ।

घटनामा संलग्न २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय गोपाल भन्ने रामगोपाल रानालाई पनि पक्राउ गरेको थियो ।

पक्राउ परेको सबैलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।

 

Comments

Top