कोरोनाका कारण भारतीय कांग्रेस नेता पटेलको निधन

ahamad patel

नयाँदिल्ली । भारतीय काँग्रेसका बरिष्ठ नेता अहमद पटेलको बुधबार निधन भएको छ । उनलाई कोरोनभाइरसको सङ्क्रमण पुष्टि भएको र शरिरका धेरै अंगले काम गर्न छाडेपछि निधन भएको परिवारजनले जनाएका छन् ।

उनका छोरा फैसल पटेलले स्थानीय समय अनुसार बुधबार बिहान ३।३० बजे आफ्ना पिताको निधन भएको जानकारी दिए। पार्टीका शिर्ष रणनितिकार समेत मानिने ७१ बर्षिय नेता पटेलको अवस्था पछिल्लो केही दिनदेखि जटिल बन्दै गएको थियो ।

उनलाई मेदान्त अस्पतालमा उपचार गराइएको थियो । यही नोभेम्बर १५ देखि उहाँको अवस्था विग्रिदै गएको परिवारजनले जनाएका छन् । उनका छोरा फैसलले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ, “मेरो पिता झण्डै एक महिना अगाडि कोरोनाभाइरसबाट सङ्क्रमित हुनु भएको थियो, आज उहाँको निधन भयो, म अल्लाहसँग उहाँको आत्माको शान्तिका लागि कामना गर्दछु ।”

उनको निधनप्रति भारतका राष्ट्रपति, प्रधानमन्त्री, काँग्रेस प्रमुखलगायत विभिन्न नेता तथा सुवेच्छुक र इष्टमित्रहरुले दुःख व्यक्त गर्दै श्रद्धान्जली प्रकट गरेका छन् । आफुहरुप्रति सहानुभूती प्रकट गर्नेहरु सवैलाई उनका छोरा फैसलले धन्यवाद ज्ञापन गर्दै कोरोनाभाइरसका बारेमा हेल्चक्र्याई नगर्न पनि सवैलाई आग्रह गरेका छन् ।

स्वर्गिय पटेल गुजरातबाट अहिले पनि राज्य सभा सदस्य थिए । योसँगै उनी आठ पटक सांसद भएका थिए । ती मध्ये पाँच पटक राज्य सभामा भएका थियो भने तीन पटक लोकसभामा निर्वाचित भएका थिए ।

भारतीय राष्ट्रिय काँग्रेसका उनी अहिले पनि कोषाध्यक्ष थिए । अहिले उनको तेस्रो कार्यकाल चलिरहेको थियो ।

Comments

Top