'कोरी'भित्रबाट बस्नेतको प्रश्नः ६ घन्टामा आउने कोरोना रिपोर्ट किन ५ दिन पछि आयो ?

Mohan

 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका नेता एवं पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्‍नेतले बुवाको मृत्युपछिको संस्कारअन्तर्गत किरिया बसिरहेको अवस्थाबाटै सामाजिक सञ्जालमार्फत गुनासो पोखेका छन् । उनले ६ घन्टामा आउने कोरोनाको रिपोर्ट ५ दिनपछि मात्र सार्वजनिक गरेर थप पीडा दिएको बताएका छन् ।

साउन २२ मा निधन भएका ८४ वर्षीय बुवाको शव त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो । त्यसपछि अस्पतालले राति नै निकालेर लैजान बाध्य पारेको बताएका छन् । उनले बुवाको दाहसंस्कारसमेत भइसकेको अवस्थामा सरकारले कोरोना पुष्टि गरेपछि आक्रोश समेत पोखेका छन् ।

‘वास्तवमा बुबाको मृत्यु दुवै किड्नी खराब भएकाले हो । उपचारमा संलग्‍न स्वास्थकर्मीले तुरुन्त शव निकाल्नु भन्दा पनि हामीले भोलिपल्ट बिहान ७ बजे मात्रै शव निकालेका थियौँ’, उनले भनेका छन्, ‘शिक्षण अस्पतालमा उपचारका लागि लैजाँदा सुरुमा पीसीआर नेगेटिभ देखिएको थियो।’

‘डाक्टरले दुवै किड्नी ड्यामेज भएकाले निधन भएको बताएपछि हामीले अन्तिम संस्कारका लागि बाह्रविसे ल्याएका हौं’, उनले भनेका छन्, ‘दुवै किड्नी ड्यामेज भएकाले मृत्यु भएको जानकारीपछि दाहसंस्कारमा धेरै शुभचिन्तक सहभागी भए।’ उनका पिताको दाहसंस्कारपछि कोरोना पुष्टि भएपछि अहिले सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रका स्थानीय त्रसित बनेका छन् ।

 

उनले फेसबुकमा यस्तो लेखेका छन्

सम्पूर्णमा अपिल!
हाम्रो ८४ वर्षीय पुजनीय पिताको मृत्युमा समेत राजनीतिक कुचेष्टा सहित हस्पिटलबाट जबरजस्ती पीसीआर रिपोर्ट नआई शव लागिएको भन्ने भ्रामक समाचार सम्प्रेषण गर्ने सन्चार माध्यम प्रति गहिरो खेद प्रकट गर्दछौं।

वास्तवमा बुबाको मृत्यु दुवै किड्नीको खराबीको कारणले यहि मिति २०७७/०४/२२ गते ११:४५ मा भएको थियो। उपचारमा सम्लग्न स्वास्थ टिमले तुरुन्त शव निकाल्नु भन्दा-भन्दै हामीले भोलिपल्ट बिहान ७ बजे मात्र शव निकालेको सम्पूर्णमा जानकारी गराउदछौं ।

शिक्षण अस्पतालमा उपचारका लागि लैजादा उहाँको सुरुमा पीसीआर नेगेटीभ देखिएको थियो । पहिला उपचारपछि घरमै आराम गरिरहनु भएका उहाँको स्वास्थ्यमा पुनः समस्या आएपछि मनमोहन कारडियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसीयुमा भर्ना गरिएको थियो।

डाक्टरहरुको टिमले दुवै किड्नी ड्यामेज भएकाले मृत्यु भएको हामीलाई जानकारी गराएपछि हामीले अन्तिम संस्कारका लागि बाह्रविसे ल्याएका हौं।

दुवै किड्नी ड्यामेज भएको कारणले मृत्यु भएको जानकारी पछि दाहासंस्कारमा धेरै शुभचिन्तकहरुको सहभागिता रहेको थियो तर मृत्यु भएको ६ घण्टामा आउने रिपोर्ट एक साता पछि कोरोना लागेर मृत्यु भएको स्वास्थ्य मन्त्रालयबाट समाचार सम्प्रेषण हुन्छ भने यसमा हाम्रो कुनै कमजोरी नरहेको जानकारी गराउदछौं ।

यदि कोरोना संक्रमण नै थियो भने हामीलाई किन राति नै शव लैजान भन्ने अमानवीय हर्कद भयो ?

 

Comments

Top