डोलेश्वरका दर्शनार्थीलाई साउनै भर मास्क र स्यानिटाइजर

Doleshwor (2)

भक्तपुर । साउन महिनाभरको सोमबार र शनिबार डोलेश्वर महादेव मन्दिरको दर्शनमा आउने भक्तालुहरुलाई भक्तपुरका स्थानीय युवाहरुले सहयोग गरिरहेका छन् । विशेष गरी भगवान् शिवको महिना भनेर चिनिने साउन महिनाको सोमबार र शनिबारका दिन देशभरका शिवालयहरुमा भक्तजनहरुको भिड लाग्ने गर्दछ । तर, यस पटक भने कोरोना संक्रमणका कारण शिवालयहरुमा भीड कम देखिएको छ ।

संक्रमणको डरकाबीच पनि भक्तालुहरु भक्तपुरस्थित डोलेश्वर महादेव मन्दिरमा आउने दर्शनार्थीहरुलाई स्थानीय युवाहरुले पहिलो सोमबारदेखि नै मास्क र सेनिटाइजरको व्यवस्था गरिरहेको छ । साउन महिना भएकोले सूर्यविनायकको सिपाडोलस्थित केदारनाथको शिरभाग डोलेश्वर महादेव मन्दिरमा दर्शन गर्न आउने अत्याधिक मात्रामा भक्तालुहरुको आउने गरेका छन् ।

यसपटक कोरोना भाइरसको संक्रमणका कारण तुलनात्मक रुपमा कम भक्तालुहरु आए पनि उनीहरुको सुरक्षालाई ध्यानमा राख्दै स्थानीय युवाहरुले मन्दिर परिसरमा प्रवेश गर्ने भक्तालुलाई मास्कका साथै स्यानिटाइजर वितरण अभियान सुरु गरेको अभियानकर्ता पुष्पराज बस्नेतले बताए ।

विशेष गरी प्रत्येक शनिबार र सोमबारका दिन मन्दिरमा आउने भक्तालुहरुको संख्या अधिक हुने भएकाले स्थानीय युवाहरुको समूहले स्वास्थ्यको पूर्ण प्रत्याभूति दिने उद्देश्य र सामाजिक दूरी कायम गरी भक्तालुहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको बस्नेतले बताएका छन् । यसअघि युवाको समूहले ४ हजार ५ सय भन्दा धेरै भक्तजनलाई मास्क वितरण गरिसकेका छन् २५ लिटर भन्दा बढी सेनिटाइजर प्रयोग भइसकेकोछ ।

विभिन्न व्यक्ति एवं संस्थाहरुको सहयोगबाट अहिलेसम्म सहयोग गरिरहेका युवाहरुको समूहलाई पछिल्लो पटक सूर्यविनायक नगरपालिकाका स्थानीय वडाध्यक्ष किरण थापा र नगर सदस्य धर्मराज बस्नेतले २ हजार मास्क र ८ लिटर स्यानिटाइजर सहयोग गरेको पनि अभियानमा सहभागीले बताए । उनले आफूहरुले साउन महिनाका सोमबार र शनिबार दर्शनका लागि आउने भक्तजनहरुलाई मास्क र सेनिटाइजर उपलब्ध गराउने बताए ।

Doleshwor (3)Doleshwor (1)Doleshwor (5)

Comments

Top