नेपालीमा कोरोनाः विश्वभर १ सय ७७ नेपालीले ज्यान गुमाए, ४४ हजार ६६६ नेपाली संक्रमित

Nepali_Corona

 

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । यससँगै हालसम्म विदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ४३ पुगेको छ भने नेपालमा थप ३४ जना गरी हालसम्म कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या १ सय ७७ पुगेको छ ।

त्यस्तै हालसम्म नेपालबाहेक विश्वका विभिन्न देशहरुमा गरी २८ हजार ९ सय १८ जनामा कोरोना संक्रमण देखिएको पुष्टी भएको छ भने स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याकअनुसार नेपालमा १५ हजार ७ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै हालसम्म नेपालसमेत गरी विश्वभरका ४४ हजार ६ सय ६६ जना नेपालीमा कोरोना संक्रमण पुष्टी भएको छ ।

त्यस्तै हालसम्म नेपालबाहेक विश्वका २५ हजार २ सय २६ जना र हालसम्म नेपालमा ६ हजार ५ सय ४७ गरी जम्मा ३१ हजार ७ सय ७३ जना नेपाली कोरोना मुक्त भइसकेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिको पछिल्लो तथ्यांकअनुसार संयुक्त अरब इमिरेट्स (युएई)मा थप छ, भारतमा पाँच, ओमान र कुवेतमा एक/एक नेपालीको मृत्यु भएको हो ।

समितिका अनुसार शनिबार साँझसम्म विभिन्न १४ देशमा १४३ नेपालीको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेन, ओमानलगायत देशमा रहेका नेपालीको मृत्यु भएको छ ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस हप्ता विदेशमा मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमणको दर न्यून हुँदै गएको छ । शनिबार साँझसम्म विदेशमा २८ हजार ९१८ जनामा कोरोना संक्रमण देखिएको छ भने २५ हजार २२६ गैरआवासीय नेपाली कोरोना मुक्त भएका छन् । एनआरएनएका अनुसार हालसम्म विश्वभर ३७ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट प्रभावित भएका छन् ।

 

Comments

Top