राजधानीबासीको मेलम्ची आशा विश्वासमा परिणत हुँदै, सुरुङमा पानी छाडियो

melamchi

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा आइतबार पानी छोडिएको छ । आयोजनाका अनुसार अहिलेलाई प्रतिसेकेन्ड २ सय ६० लिटर पानी छोडिएको जनाउँदै राजधानीबासीमा मेलम्चीको खानेपानी प्रयोग गर्ने आशा विश्वासमा परिणत हुने क्रममा देखिएको छ ।

वर्षौदेखि मेलम्चीको खानेपानी खाने आकांक्षामा रहेका राजधानीबासीमा आयोजनाको यस कार्यले सकारात्मक सोच पलाएको छ । आयोजना सुरु भएदेखि पटक पटक विभिन्न बाधा अड्चन भोगेको आयोजनाले अन्ततः अन्तिम समयमा आएर नयाँ ठेकेदार कम्पनीलाई काम दिँदै काम सम्पन्न गर्ने चरणमा प्रवेश गरेको हो ।

सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौं उपत्यकामा ल्याउन बनाइएको २६ किलोमिटर सुरुङमा आइतबार पानी छोडिएपछि आयोजना नयाँ चरणमा प्रवेश गरेको सरकारको दावी छ ।

खानेपानी मन्त्रालयले आइतबार दिउँसो पत्रकार सम्मेलन गरी भनेको छ ‘यसरी विभिन्न समस्या र चुनौतीहरु पार गर्दै काठमाडौंबासीको दुई दशकभन्दा लामो ब्यग्र प्रतीक्षालाई सम्बोधन गर्ने क्रममा सुरुङमा पानी पथान्तरण गरेसँगै आजैका मितिदेखि आयोजना नयाँ चरणमा प्रवेश गरेको व्यहोरासमेत सार्वजनिक गर्दछौं ।’

उक्त अवसरमा खानेपानी मन्त्री विना मगरले जनताको माझमा मेलम्ची खानेपानी आयोजना सम्पन्न भइसकेको जानकारी गराइन् । उक्त अवसरमा मन्त्री मगरले छिटै उद्घाटन मिति तय गरेर उद्घाटन गर्ने जानकारी दिइन् ।

सुरुङको परीक्षणका लागि चाहिने सबै आवश्यक प्राविधिक तयारी सकिएको मेलम्ची खानेपानी विकास आयोजनाले जनाएको छ ।

Comments

Top