विश्व कोरोनाभाइरसको पहिलो लहरको मध्यबिन्दुमा : विश्व स्वास्थ्य संगठन

WHO_1

जेनेभा । विश्व कोरोनाभाइरस संक्रमणको पहिलो लहरको मध्यविन्दुमा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका आपतकालिन प्रमुख माइक रायनले केही देशहरुमा कोरोनाको संक्रमण कम हुँदै गएको देखिएपनि मध्य र दक्षिण अमेरिका, दक्षिण एसिया र अफ्रिकामा बढिरहेको जानकारी दिएका छन् ।

कोरोना भाइरसको संक्रमण कम हुँदै गएका देशहरुले महामारी रोक्ने मापदण्डहरुलाई छिटो छाडेमा तत्कालै संक्रमणको दोश्रो उचाइको सामना गर्नुपर्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ । महामारी लहरका रुपमा आउने बताउँदै रायनले पहिलो लहर आएको ठाउँमा यो बर्षको अन्त्यतिर अर्को लहर आउनसक्ने बताएका छन् ।

पहिलो संक्रमणको लहर रोक्नका लागि अपनाइएका मापदण्डहरु छिट्टै हटाएमा संक्रमण दर छिट्टै माथि उठ्ने उनले चेतावनी दिएका छन् । तर रोग कुनैपनि बेला अचानक बढ्नसक्ने उनको भनाई छ ।

उत्तर अमेरिका र युरोपले जनस्वास्थ्य र सामाजिक मापदण्डहरुलाई कायम राखिरहनुपर्ने उनको भनाई छ । त्यस्तै निगरानीका मापदण्ड, परीक्षणका मापदण्ड र बृहत रणनीति कायम गर्नुपर्ने उनले बताएका छन् ।

कैयन युरोपियन देशहरु र अमेरिकाका राज्यहरुले पछिल्ला हप्ताहरुमा लकडाउनका मापदण्डहरु हटाउनका लागि कदमहरु चालिरहेका छन् । लकडाउनका मापदण्डहरु कायम राखिरहँदा युरोप र अमेरिकाको अर्थतन्त्रमा नकारात्मक असर परिरहेको छ ।

Comments

Top