लकडाउन उल्लंघन गर्दै धादिङ कांग्रेस सभापति धमलाः भिडभाड गरेर पार्टी प्रवेश !

dhading

धादिङ । नेपाली काँग्रेस धादिङ्ग जिल्ल्ला सभापती रमेश धमला लकडाउन उलंघन गर्दै पार्टी प्रवेश गराउँदै हिँडेको पाइएको छ । शुक्रबार निलकण्ठ नगरपालिका–१४ धुवाकोट (साविक धुवाँकोट गाविस वडा नम्बर ८) पुगेर २५ जना युवाहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

सरकारले जारी गरेको लकडाउनको समयमा सामाजिक दुरी कायम गर्नुपर्नेमा युवाहरुको भेला गरेर पार्टी प्रवेश गराएका हुन् । स्थानीय युवाहरुलाई खेलमैदान बनाइदिन्छु भन्दै पार्टी प्रवेश गराएको प्रत्यक्षदर्शीले जानकारी दिए ।

धुवाकोट घर भई धादिङ्गको ज्वालामुखी गाउँपालिका–४ स्थित बराहकालिका माविमा अध्यापन गराउने बद्री वस्तीको नेतृत्वमा युवाहरुलाई पार्टी प्रवेश गराइएको हो । पार्टी प्रवेश गर्नेहरुमा बद्र्री ओस्ती, प्रकाश ढुंगाना, ठाकुर ढुंगाना, राजन दाहाल, चित्रबहादुर दाहाल, रमेश दाहाल, निसान घिमिरे, राजेश अधिकारी, शम्भुराम अधिकारी, याम बहादुर दाहाल, दिपक ओस्ती, परशुराम वस्ती बद्री नेपाल शमृल अधिकारी लगायत रहेका छन् ।

धमलाले भिडभाड जम्मा गरेर नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुलाई टिका लगाइदिएका थिए । पार्टी प्रवेश गर्नेहरुलाई नेपाली कांग्रेस धुवाँकोटका सभापति सन्तोष बस्ताकोटीको घरमा भेला पारिएको थियो ।


सरकारले नेपालमा कोरोना भाइरस कोभिड १९ को संभावित महामारीलाई रोक्न भन्दै विगत ५४ दिनदेखि मुलुकलाई पूर्ण लकडाउन गर्दै आएको छ । कोरोना सर्ने आशंकाले गर्दा घरबाट निष्कन समेत नागरिकलाई प्रतिबन्ध लगाएको अवस्थामा धमला भने राजनीतिक गतिविधिमा क्रियाशिल भएका छन् ।

प्रशासनको मौनता !

कोरोना भाइरसलाई राजनीतिको फोहोरी खेल बनाएका धमलाले गाउँगाउँमा भिडभाड जम्मा गर्दै पार्टी प्रवेश गराउँदै आएपनि जिल्ला प्रशासन कार्यलय धादिङ भने मौन छ । गृहमन्त्रालयले सामान्य नागरिकलाई लकडाउनको पालनाको नाममा दिनभर होल्ड गर्ने सम्मका काम गर्न निर्देशन दिएपनि जिल्ला प्रशासन कार्यालय धादिङले लकडाउनलाई कडाई गर्न सकेको छैन ।

प्रशासनकै मौनताको फाइदा उठाउँदै धमला गाउँगाउँ भिडभाड जम्मा गरेर पार्टी प्रवेश गराउँदै आएका छन् ।


धमला भन्छन्,‘म जाने वित्तिकै टिकाटालो हुन्छ’

नेपाली कांग्रेस धादिङका सभापति धमलालाई यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा आफु धुवाँकोट पुगेको स्वीकार गरे । धमलाले आफू कोरोनाको अवस्था बुझ्न गएको तर पार्टी प्रवेश कार्यक्रममा भने नगएको बताए ।

‘म पार्टी प्रवेशको कार्यक्रममा होइन । साथीहरुको अवस्था के छ कोरोनाको समयमा भनेर बुझ्न गएको हो,’ धमलाले भने,‘म कोरोना सम्बन्धी अवारनेशमा गएको हो । साथीहरुसँग भिडभाड भने गरेको छैन ।’

तस्विरमा निलो ज्याकेट लगाएका धमला आफैले टीका लगाइदिएको देखिन्छ । तर, उनले आफूले टिका लगाइदिएको समेत अस्विकार गरे । ‘म पहिले पनि गएर टिका टालो गर्ने काम गरिरहेको छु । म जाने बित्तिकै टिकाटालो हुन्छ ।’ -दियोपोस्ट

Comments

Top