धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट पोजिटिभ, पुष्टी हुन बाँकी

dhulikhel

 

काठमाडौं । नेपालमा कोरोना संक्रमण पोजेटिभ देखिएको ११६ दिनपछि मृत्यु भएकी महिलामा कोरोना पोजेटिभ देखिएको छ । तर, उनको कोरोनाकै कारण मृत्यु भएको चाहिँ पु्ष्टी भइसकेको छैन । शनिबार काभ्रेको धुलिखेल अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएपछि कोरोना परिक्षणका लागि स्वाव संकलन गरि पीसीआर परिक्षण गर्दा पोजेटिभ देखिएको जनाइएको छ ।

९ दिन अघि काठमाडौं टिचिङमा सुत्केरी भएर सिन्धुपाल्चोक बाह्रबिसे घर गएकी महिलालाई अत्याधिक ज्वरो आएपछि उनलाई शुक्रबार धुलिखेल अस्पताल ल्याइएको थियो । उनको उपचारका क्रममा कोरोनाको लक्षण देखिएको अस्पतालले जनाएको छ ।

अस्पताल उच्च स्रोतका अनुसार राति साढे ९ बजे इमर्जेन्सीमा ल्याउँदा उनको अवस्था निकै गम्भिर थियो । साथै स्वास फेर्न समेत निकै कठिन भइरहेको थियो ।

‘हामीले अनेक प्रयास गर्‍यौं । स्वास फेर्न गाह्रो भएको थियो । ट्युब राखेर भेन्टिलेट गर्दा पनि बचाउन सकेनौं,’ उनले भने, ‘त्यसपछि हामीले स्वाब लिएर परीक्षण गर्दा आज बिहान रिपोर्ट पोजिटिभ आयो । थप यकिन गर्न हामीले नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पनि पठाएका छौं ।’ 

उनको कोरोना संक्रमणकै कारण मृत्यु भएको सम्बन्धमा स्वास्थ्यमन्त्रालयले पुष्टी भने गरिनसकेकाे जनाइएको छ । नेपालमा पहिलोपटक माघ ९ गते कोरोना संक्रमण देखिएको थियो । 

Comments

Top