नेपाल र जापानबीच पहिलो पटक श्रम भिसामा कामदार लैजाने सहमति

japan

   काठमाडौं । नेपाल र जापानबीच नेपाली कामदार लैजाने विषयमा सहमति भएको छ । सोमबार काठमाडौंमा दुई देशबीच ‘सहयोग समझदारी पत्र’मा हस्ताक्षर भएको हो । कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा श्रम मन्त्रालयका निमित्त सचिव र जापानी राजदूतले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

जापानले पहिलोपटक ‘श्रम भिसा’ मा सोझै नेपालबाट कामदार लैजाने भएपछि दुई देशबीच समझदारीमा हस्ताक्षर भएको हो।जापानले आउँदो अप्रिल १ देखि नेपालसहित ९ देशबाट विदेशी कामदार लैजाने निर्णय गरेको छ। समझदारीअनुसार दुई देशका सरकारी संयन्त्रको समन्वयमा कामदार भर्ना हुनेछन्।

तेस्रो पक्षको संलग्नता हुँदा उच्च ठगी हुने सम्भावना देखिएको भन्दै सरकारले सिधै सरकारी संयन्त्रबाटै पठाउने निर्णय गरेको हो । त्यसका लागि श्रम मन्त्रालयले वैदेशिक रोजगार विभागअन्तर्गत एउटा शाखा स्थापना गर्नेछ । त्यही शाखाले जापानी रोजगारदाताले माग गरेअनुसारका कामदार पठाउन सहजीकरण गर्नेछ ।

यसअघि दक्षिण कोरिया र इजरायलमा सरकारी तवरबाटै कामदार पठाउने गरिएको छ । सम्झैता अनुसार जापान जाने नेपाली कामदारले जापानी नागरिक सरह वा बढी पारिश्रमिक पाउनेछन् ।

कृषि, नर्सिङ केयर, सवारी साधान मर्मत सम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी पार्ट उद्योग, माछा मार्ने र माछा पालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्टिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योथ, विल्डिङ सरसफाइ व्यवसाय, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हजाई उद्योगमा श्रमिक लिनेछ ।

जापानले विशिष्टिकृत दक्ष कामदार (स्पेसिफाइड स्किल वर्कर) को पहिलो र दोस्रो वर्गका कामदार लिनेछ । पहिलो वर्ग (एसएसडब्लू–आई) का कामदारलाई जापान जान सम्बन्धित कार्यक्षेत्रमा अनुभव आवश्यक पर्छ र उनीहरु बढीमा ५ वर्षसम्म जापानमा बस्न पाउँछन् र दोस्रो वर्ग (एसएसडब्लू –आईआई) का कामदारका लागि भने उच्च तहको सिप आवश्यक पर्छ ।

डाक्टर, नर्स, इन्जिनियर लगायतले यस्तो भिसा पाउनेछन् । यस्ता कामदारको पनि भिसा अवधि थप गर्न सकिने र परिवारका सदस्यहरुलाई समेत जापान लैजान सक्ने सुविधा हुने समझदारी भएको छ । जापान जान चाहने नेपाली कामदारले जापानी भाषा र सीप परीक्षा अनिवार्य रुपमा पास गर्नुपर्नेछ ।

Comments

Top