प्रहरीमा बढुवा प्रकरण : जुनियर ब्याच हावी हुँदा चेन अफ कमाण्डमा समस्या

policelogoकाठमाडौं । नेपाल प्रहरीको एसएसपी र एसपी बढुवा सिफारिसउपर कुनै उजुरी नपरेपछि फुली लगाउने तयारी भइरहेको छ । बढुवामा उजुरी नपर्नुको अर्थ बढुवा एकदमै राम्रो भयो भन्ने होइन । उजुरी गरेर पनि कुनै न्याय नपाइनुले हो । बढुवा निकै विवादास्पद भए पनि अन्यायको सुनुवाई नहुने भएकाले उजुरी नपरेको हो । कतिपयले यो पटकको बढुवालाई इतिहासमै खराब भनेका छन् ।


एसपीबाट एसएसपी बढुवामा केही व्यक्ति तलमाथि परे, अधिकांश राम्रा अधिकारीहरु बढुवामा समेटिएका छन् । एसपी नरेन्द्र उप्रेतीले राजीनामा दिए पनि बढुवामा उनीभन्दा सक्षम अधिकृतहरुसमेत छुटेका छन् । १५ रिक्त पदमा ३१ जनालाई बढुवा गर्न सम्भव थिएन ।
तर, एसपी बढुवामा भने संगठनको मूल्य मान्यतालाई भत्काउने काम भएको छ । सेनामा फास्ट ट्रयाक बढुवा प्रणाली जस्तै नेपाल प्रहरीमा पनि जुनियर ब्याचलाई पहिला बढुवा गरेर चेन अफ कमाण्ड ध्वस्त बनाउने परिपाटी सुरु भएको छ ।
२५ जना एसपीको बढुवामा १२ जना नयाँ टोलीबाट छन् । जबकि पुरानो ब्याचका आठ जना छुटेका छन् । जसमा कतिपय इमान्दार र सक्षम अधिकृतहरुलाई समेत संगठनले ठूलो अन्याय गरेको चर्चा प्रहरी संगठनमा छ ।
बढुवाले परिवारमै समस्या ल्याउने अवस्था समेत देखिएको छ । जस्तो कि अमरेन्द्रकुमार सिंह र रञ्जु सिग्देल श्रीमान श्रीमती हुन् । उनीहरु ब्याची पनि हुन् । यसपटकको बढुवामा अमरेन्द्र बढुवामा छुटे भने रञ्जु बढुवा भएकी छिन् । यसले उनीहरुको परिवारमै समस्या भएको छ । आफू चाहिँ किन बढुवा भइनँ भनेर आफन्तलाई जवाफ दिएर हिंड्नुपर्ने अवस्था अमरेन्द्रको छ । अमरेन्द्र संगठनमा निकै इमान्दार र भलाद्मी अफिसरका रुपमा चिनिन्छन् । सोही टोलीका ब्याच टपर भुवनेश्वर तिवारी, ऋषि कँडेल जस्ता अधिकारी समेत बढुवामा छुटेका छन् । (दृष्‍टिबाट )

Comments

Top