पूर्वराजा ज्ञानेन्द्रले भने - मुलुकको राष्ट्रियता समेत निकै कमजोर स्थितिमा पुग्यो

gyanendra

 काठमाडौं । पूर्वराज ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रियता समेत निकै कमजोर स्थितिमा पुगेको बताएका छन् ।

६९औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सोमबार शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले दण्डहिनता एवं विधिबिहीनताले विकराल स्थितिको सृजना हुन नपाउने गरी प्रजातन्त्र सोँझासाझा सबै नेपालीको पहुँचमा हुनुपर्दछ भन्ने आफ्नो मान्यता रहेको बताएका हुन् ।

पूर्वराजा शाहले अहिलेको सरकारप्रति संकेत गर्दै शक्ति पृथकीकरणको कुरा उठाएका छन् । कम्युनिस्टहरू जनताप्रति अनुदार रहने उनको घुमाउरो भाषामा भनाइ छ ।

‘त्यसै गरी हाम्रो आफ्नो सनातनिक धर्म, संस्कृति र हाम्रै आफ्नो मौलिक आदर्श एवं मान्यताप्रति धर्मान्तरणको प्रकृयाबाट आक्रान्त भएको कहालीलाग्दो दुखद् अवस्था देखा परेको छ’, पूर्वराजा शाहले भनेका छन्, ‘त्यस्तो जन असहमत कार्यप्रति राज्यको ध्यान जानू पर्दछ भन्ने हाम्रो दृढ धारणा रहेको छ ।’

उनले नेपालको भू–राजनीतिक अवस्थालाई दृष्टिगत गर्दै परराष्ट्र तथा मैत्री सम्बन्धलाई सुमधुर, शालीन र सौम्य कूटनीतिक व्यवस्थाद्वारा आधारभुत विश्वसनीयता स्वस्थरुपमा अघि बढाउन सक्नुपर्ने बताएका छन् ।

‘प्रजातन्त्र दिवसका अवसरमा आज हामी हाम्रा जिजुबुवा राष्ट्रपिता श्री ५ त्रिभूवनसहित प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सवैको स्मरण गर्न चाहन्छौं’, पूर्वराजा शाहले भनेका छन् ।

‘हामी र हाम्रा पूर्खाहरूको पुख्र्यौली आदर्श प्रजातन्त्र हो । सबै अटाउने प्रणाली, सबैको आस्थाको केन्द्र राष्ट्र बन्न नसकेसम्म प्रजातन्त्रले मूर्तरुप लिन सक्दैन’, उनले भनेका छन्, ‘जनताको हित, सुरक्षा र विकासको मूलभुत साधन प्रजातन्त्र नै हो । देश दर्शनको क्रममा हामीले बोध गरे अनुरुप प्रजातन्त्रको त्यस्तो अनूभुति आम नेपालीमा छैन ।’

‘आम नागरिकमा राज्यका विभिन्न अंगप्रति नैराश्यता, वितृष्णा र अनभिज्ञता लामो समयसम्म रहिरहनू गम्भिर चिन्ताको विषय बनेको छ’, पूर्वराजा शाहले शुभकामना सन्देशमा भनेका छन्, ‘यसरी राष्ट्रप्रतिको निष्ठामा आएको ह्रास, प्रत्येक युवामा देश छाड्ने आतुरता र नागरिकको मनमा उत्पन्न हिनताबोधले, राष्ट्र दिन प्रतिदिन कमजोर बनिरहेको छ ।’

Comments

Top