काश्मिर आक्रमणका मास्टरमाइन्ड मौलाना मसूद , जो काठमाडौंबाट बिमान अपहरण हुँदा सर्तसहित भारतीय जेलबाट छुटेका थिए

daaudamaulana

 काठमाडौं। भारत प्रशासित काश्मिरको पुलवामामा बिहीबार भएको भीषण आक्रमणमा संलग्न पाकिस्तानस्थित इस्लामिक आतंकबादी संगठन जैस ए–मोहम्मदका प्रमुख मौलाना मसूद अजहरमाथि बदला लिने तयारीमा भारत सरकार रहेको भन्दै भारतीय मिडियाहरुले समाचार प्रवाह गरिरहेका छन् ।

 विस्फोटक पदार्थले भरिएको एउटा कारमार्फत छुट्टी मनाएर काममा फर्कदै गरेका करिब दुई हजार ५०० सुरक्षाकर्मी लिएर गइरहेका ७८ ओटा सवारी साधनलाई लक्षित गरी आत्मघाती आक्रमण गरिएको थियो । उक्त आक्रमणमा परी करिब ४१ जना सैनिकको मृत्यु भएको थियो । जैस ए का लडाकू आदिल अहमदले आत्मघाती आक्रमण गरेको बताइएको छ ।

बिबिसीका अनुसार मौलाना मसूद अजहरले सन् २००० मा स्थापना गरेको यो उग्रवादी समूह विगतमा भारतीय भूमिमा भएका कतिपय घटनाहरूका लागि जिम्मेवार मान्ने मान्ने गरिन्छ । सन् २००१ मा भारतीय संसद्‌मा भएको आक्रमणमा मौलाना मसूद अजहर को समुहको संलग्नता रहेको थियो। जैश-ए-मोहम्मदका संस्थापक मौलाना मसूद अजहरलाई सन् १९९४ मा हरकत-उल-मुजाहिद्दिन नामक उग्रवादी सङ्गठनको सदस्य भएको अभियोगमा भारतले पक्राउ गरेको थियो।

 मसुद अजहर पक्राउको बदलाका लागि आतंकबादी संगठनले सन् १९९९ को डिसेम्बर २४ तारिखमा एउटा भारतीय विमान नेपालको राजधानी काठमाडौंबाट अपहरण गरेर कान्दाहार पुर्‍याइएको थियो। त्यसपपछि बन्दी साटासाट गर्दा भारतीय जेलमा रहेका अन्य उग्रवादीहरूसँगै मसूद अजहरलाई पनि रिहा गरिएको थियो। भारतीय एअरलाइन्सको आइ. सी ८१४ को उडानलाई  लडाकू समूहले अपहरण गरेपछि त्यसलाई सुरक्षित रूपमा भारतले समाधान गरेको थियो । 

उक्त विमानलाई अफगानिस्तानको कान्दाहरमा लगेर अवतरण गराइएको थियो र विमानमा सवार १६६ जनाको सुरक्षाका लागि भारतले तीन उच्च लडाकूलाई रिहा गरेको थियो । ति मध्य एक थिए मौलाना मसूद अजहर । 

 त्यसलगत्तै उनले जैश-ए-मोहम्मद को स्थापना गरे। स्थापनाको दुई महिनाभित्रै जैश-ए-मोहम्मदले श्रीनगरस्थित भारतीय सेनाको स्थानीय मुख्यालयमा आत्मघाती बम हमला गरेर त्यसको जिम्मेवारी दाबी गरेको थियो।

 काश्मिरका विभिन्न स्थानमा आक्रमण गरेको जैश-ए-मोहम्मदले सन् २००१ को १३ डिसेम्बरमा भारतको संसद् भवनमा र सन् २०१६ को जनवरी महिनामा पन्जाबको पठानकोटस्थित वायुसेनाको अखडामा भएको आक्रमण पनि गराएको ठानिएको छ।

 मसूद अजहरलाई संयुक्त राष्ट्रसङ्घमार्फत् नै आतङ्ककारी घोषित गर्ने भारतको विगतको प्रयासलाई चीनले रोक्दै आएको छ। भारतले मसूद अजहरलाई सुम्पन पाकिस्तानसमक्ष राखेको मागलाई इस्लामाबादले प्रमाणको अभाव भन्दै अस्वीकार गर्दै आएको छ। केही भारतीय मिडियाहरुले भने अन्डर्वल्ड डन दाऊद इब्राहिम र मसुद अजहरबीच सम्बन्ध रहेको समाचार पनि दिएका छन् ।

 

Comments

Top