जनक शिक्षाको प्रेसमा सात प्रदेशका सात थरी प्रश्नपत्र

exam board

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्रदेशअनुसार छुट्टाछुट्टै प्रश्नपत्र बनाउने भएको छ । बोर्डले चैत १० देखि देशभर सञ्चालन हुने परीक्षाका लागि छुट्टा छुट्टै प्रश्नपत्र छपाइ थालेको हो । जनक शिक्षा सामग्री केन्द्रको भक्तपुरस्थित सेक्युरिटी प्रेसमा सातवटै प्रदेशका लागि आवश्यक प्रश्नपत्र छपाइ थालिएको बोर्डले जनाएको छ ।

सबै प्रदेशमा सेक्युरिटी प्रेस नभएको भन्दै बोर्डले जनक शिक्षामा नै प्रश्नपत्र छपाएर पठाउन लागेका जनाएको छ । प्रत्येक प्रदेशका लागि एकै स्तरका तर फरक–फरक सेटका प्रश्नपत्र निर्माण गरिएको छ ।संघीय र प्रदेश सरकारको समन्वयमा एसईई परीक्षा सञ्चालन हुन लागेको हो । शिक्षा ऐनको आठौं संशोधनले एसईई परीक्षाको जिम्मेवारी प्रदेश सरकारलाई दिएको छ । यसअघि परीक्षा नियन्त्रण कार्यालयले एसएलसी र एसईई परीक्षा सञ्चालन गर्दै आएका थिए ।

परिक्षा नियन्त्रण कार्यालय बोर्डमा गाभिएपछि प्रदेश, बोर्डको प्रदेश कार्यालय र जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईले परीक्षा चलाउन लागेका हुन् । चैत २१ गतेसम्म हुने परीक्षामा नियमिततर्फ ५ लाखभन्दा बढी र आंशिकतर्फ ५० हजार विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ । अर्थ मन्त्रालयले एसईई परीक्षाका लागि बोर्डलाई २३ करोड र ७ वटै प्रदेश सरकारलाई २६ करोड विनियोजन गरेको छ । मुलुकभरका एक हजार नौ सय ६१ विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ ।

Comments

Top